हाम्रो बारेमा

यस श्री आधारभूत विद्यालय मदवाको ऐतिहासिक पृष्ठभूमिलाई सरसरी हेर्दा यस विद्यालयको स्थापना वि.स.२०३८ सालमा समाजसेवी श्री अमृत चन्द ठाकुर र धनिराम थारुको सहयोग र पहलमा स्वयम्‌सेवक शिक्षक श्री भिम बहादुर मल्ल ज्यू ले स्थापना गर्नुभएको थियो र केही समय पछि स्वयम्‌सेवक शिक्षक भिम बहादुर मल्ल ज्यू ले गाउँ समाजको सहयोगमा २ कोठे खरले छाएको घरमा गाउँका स–साना बालबालिकालाई जुटाई विद्यालय सञ्चालन गर्नुभयो । त्यतिबेला यस विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत पाएको थिएन तसर्थ समाजसेवी श्री अमृत चन्द ठाकुरको निरन्तर प्रयासपछि श्री जिल्ला शिक्षा कार्यालयबाट यस विद्यालयले मिति २०३९/११/०६ गते स्वीकृत प्राप्त गर्‍यो र स्वयम्‌सेवक शिक्षक  कार्यरत श्री भिम बहादुर मल्ल ज्यूलाई अस्थायी शिक्षक पदमा नियुक्ति गर्‍यो ।


       निवर्तमान वडा अध्यक्ष श्री सिताराम थारुले यस विद्यालयलाई ०–०–११ धुर जग्गा प्रदान गर्नुभएको थियो । केही वर्षपछि गाउँ समाजको सहयोगमा ईटाको गाह्रो लगाईयो र जिल्ला विकासबाट कर्कटपाता ल्याई २ कोठे विद्यालय भवन निर्माण गरियो । त्यस बेला विद्यार्थीहरुलाई पिउँने पानीको निकै समस्या परेकोले कार्यरत प्र.अ.ले जिल्ला रेडक्रस सोसाईटी कपिलवस्तुमा पहल गरि पिउँने पानीको व्यवस्था गर्नुभयो ।


      मिति २०५२ सालमा जिल्ला शिक्षा परियोजना कपिलवस्तुको सहयोगमा र गाउँ समाजको श्रमदानमा २ कोठे विद्यालय भवन र १० थान फर्निचरको निर्माण गरियो र शैक्षिक सत्र २०५९/६० मा जिल्ला शिक्षा कार्यालय क.व.को सहयोग र श्रमदानमा २ कोठा भएको ब्लक,३० सेट फर्निचर,खानेपानी धारा १ र २ केविन भएको शौचालय निर्माण भयो। समयको परिवर्तन संगै समाजको माग र आवश्यकतालाई मध्यनजर गर्दै यस प्रा.वि. मदवा लाई समाजका शिक्षाप्रेमी व्यक्तिहरु,अभिभावकहरुको सक्रियतामा मिति २०६६ साल देखि नि.मा.वि. तहको कक्षा ६ सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय कपिलवस्तु बाट अनुमति ल्याईएको  थियो। त्यस कार्यमा पूर्णता दिनको लागि क्रमैसंग मिति २०६७ सालमा कक्षा ७ र २०६८ साल २ महिना २८ गते कक्षा ८ को अनुमति ल्याई हाल यो विधालय नि.मा.तहसम्म सञ्चालनमा रहेको छ ।


        नि.मा.वि कक्षा संचालनका लागि अनुमति मात्र होईन,जागरुक शिक्षा प्रेमि एवम् विकास प्रेमि यसै विधालयका प्र.अ.श्री शंकर मल्लले जिल्ला शिक्षा कार्यालयबाट मिति २०६७ मा २ कोठे एउटा भवनको लागि व्यवस्था गर्नुभयो। विधालय पहिलेनै समुदायमा आधारित भएकोले  २ कोठे भवन निर्माण गर्नका लागि समुदायलेनै रु.२०००००।– अक्षररुपी दुई लाख बराबरको जन श्रमदान गर्नुपर्ने थियो । त्यसैगरि मिति २०६८ सालमा पनि पुनस्जिल्ला शिक्षा कार्यालयबाट  २ कोठे एउटा भवनको कोटा पारियो र निर्माणका लागि समुदायले करिब २ लाख बराबरको जनश्रमदान गर्ने सहमति भयो । यसरी विकासको गोरेटोमा विस्तारै पाईला चाल्न सुरु गरेको यो विद्यालय गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण हुनुपर्छ नि.मा.वि.सम्मको पढाई हुने भएपछि विद्यालयमा विद्यार्थीहरुको भिड लाग्न थाल्यो । यसरी विद्यार्थीहरुको चाँप बढेपछि जिल्ला शिक्षा कार्यालयबाट पुनस्२ कोठे भवनको कोटा पारी नि.मा.तह सम्मलाई प्रशस्त भौतिक सुविधा सम्पन्न बनाउँन यो विद्यालय सफल भएको थियो । समयको गति संगै क्रमिक रुपमा भौतिक तथा शैक्षिक सुधार हुँदै गईरहेको यस विद्यालयमा २०७५ सालमा विद्यालय वरिपरि पर्खाल निर्माण गरियो भने २०७६ सालमा नगरपालिकाको पहलमा एउटा २ कोठे पक्की  भवनको निर्माण भयो ।


         यसरी खरको छानोबाट सुरु गरिएको विद्यालयमा अहिले ६ ओटा कर्कट पाता जडान भवन र  दुईकोठे १ पक्की भवन रहेका छन् भने प्रयाप्त मात्रामा डेक्स, बेन्च, शौचालय तथा स्वच्छ पिउँने पानीको व्यवस्था गरि हाल कक्षा शिशु देखि कक्षा ८ सम्म यो विद्यालयले निस्शुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ ।