शैक्षिक सत्र २०८२ को नतिजा प्रकाशन कार्यक्रम सफलतापूर्वक सम्पन्न

Posted :

आधारभूत विद्यालय, मदवामा शैक्षिक सत्र २०८२ को वार्षिक नतिजा प्रकाशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको समुपस्थितिमा आयोजित उक्त कार्यक्रममा वर्षभरिको शैक्षिक उपलब्धिको समीक्षा गर्दै विद्यार्थीहरूको नतिजा घोषणा गरिएको थियो। यस गौरवमय अवसरमा विद्यालयका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरियो।

विशेषगरी, विद्यालयद्वारा नियमित रूपमा प्रकाशित हुँदै आएको मासिक भित्ते पत्रिकाको कार्यलाई उच्च कदर गर्दै आदरणीय श्री विष्णु प्रसाद पौडेल ज्यू बाट प्राप्त नगद रु. ४,०००/- (अक्षरेपी चार हजार रुपैयाँ) को प्रोत्साहन पुरस्कार यस कार्यमा अहोरात्र खटिने अति सक्रिय विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको छ। विद्यालयको प्राज्ञिक र रचनात्मक विकासमा पुर्‍याउनुभएको यस अतुलनीय सहयोगका लागि हामी उहाँप्रति हार्दिक आभार प्रकट गर्दछौँ। यस्ता पुरस्कारले विद्यार्थीहरूमा सिर्जनशीलता र अतिरिक्त क्रियाकलापप्रति थप उत्साह जगाउने हाम्रो विश्वास छ।

त्यसैगरी, विद्यालयको निःशुल्क शिक्षा अभियान र शैक्षिक वातावरणबाट प्रेरित भई आफ्नो अध्ययनलाई पूर्णता दिन दृढ संकल्पित कक्षा ४ की छात्रा शर्मिला थारूलाई विद्यालय परिवारको तर्फबाट विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। प्रतिकूल परिस्थितिका बाबजुद शिक्षाप्रतिको उनको यो लगनशीलता सबैका लागि प्रेरणाको स्रोत बनेको छ।

अन्त्यमा, वार्षिक परीक्षामा सफलता हासिल गरी माथिल्लो कक्षामा पदोन्नति हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै म विद्यालय प्रशासनको तर्फबाट यहाँहरूको सुखद एवं उज्ज्वल भविष्यको मंगलमय शुभकामना व्यक्त गर्दछु।

लीला खनाल
प्रधानाध्यापक
आधारभूत विद्यालय, मदवा